रुकुम जिल्ला
रुकुम नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चलमा अवस्थित एक पहाडी जिल्ला थियो। नेपालको हालको प्रशासनिक विभाजन अनुसार यस जिल्लाको पश्चिमी भाग कर्णाली प्रदेशमा र पूर्वी भाग लुम्बिनी प्रदेशमा पर्दछ।[१] समुन्द्र सतहबाट ६०० देखि ६,००० मिटर उचाइ सम्म रहेको बेसी, फाँट, पहाड र हिमाली भाग मिलेर बनेको रुकुमको पूर्वमा म्याग्दी र बाग्लुङ जिल्ला, पश्चिममा जाजरकोट जिल्ला, दक्षिणमा सल्यान र रोल्पा जिल्ला र उत्तरमा डोल्पा जिल्ला पर्दछन्। रुकुमकोटस्थित कमल दह, कमलदह बह्राजिको मन्दिर, शिवालय, देउराली गुफा, मैकोटस्थित पुथा हिमाल, सामझाङ हिउँचुली, सिस्ने हिमाल, ढोरपाटन सिकार आरक्ष, पोखरामा तातोपानीको मुल, डिग्रे साइकुमारीको मन्दिर तासुसाइकुमारी मन्दिर आदि स्थानहरू रूकुमका प्रसिद्ध पर्यटकीय गन्तव्यहरू हुन्। '५२ पोखरी ५३ टाकुरी'को जिल्लाका रूपमा परिचित रुकुममा स्यार्पु ताल, दुर्लभ वन्यजन्तु नाउर लगायत अन्य धेरै आकर्षक जडिबुटी तथा रमणीय क्षेत्रहरू रहेका छन्।
रुकुम जिल्ला |
---|
जिल्लाको इतिहास
सिंजा खस साम्राज्य छिन्नभिन्न भएपछि कर्णाली प्रदेशमा बि.स.१४३० तिर बाइसे राज्यहरूको स्थापना भयो । यसै क्रममा बडे राजा मलै बमका माइला छोरा पिताम्बरले रुकुम राज्य स्थापना गरेका हुन् । रुकुमको बोक्से जाडलाई मारेर राज्य स्थापना गर्ने क्रममा यिनले कर्मने बुढाथोकीको नेतृत्वमा धेरै जनाको सहयोग प्राप्त गरेका थिए । राजा पिताम्बरका केही पुस्तापछिका राजा जयत बम(दारेजैतम) भने निकै प्रख्याति बने । यिनको प्रख्याति त्यहाँ अझै सुन्न पाइन्छ । यिनका सात भाइ छोरा र दुइवटी छोरी थिए । छोरिहरूको बिहे क्रमश: प्यूठानी राजा र गजुले राजासंग गरिदिएका थिए । आफू नब्बे वर्षको हुँदासम्म राज्य गरेका दारेजैतमले अन्त्यमा आफ्ना सात भाइ छोरालाई अंश लगाईं सात थपौलामा रुकुम राज्य बाडीदिएका थिए । जस अन्तर्गत बि.स.१६०० मा रुकुम राज्य टुक्रिएर रुकुम, मुसिकोट, बांफि, आठबिस, जहारी, गोताम र खगेना जस्ता ससाना राज्य बनेका थिए । खगेना राज्य बाहेक अन्य राज्यको अस्तित्व नेपाल एकीकरणको समयसम्म रहेको पाइन्छ । ऐतिहासिक तथ्यलाई हेर्दाबहादुर शाहको नायवी तथा रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरूः रुकुमकोट, मुसिकोट, गोतामकोट, आठविसकोट, बाफिकोट , कोटजहारी नेपालमा गाभिएको पाइन्छ। वि.सं २०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिएपछि राप्ती अञ्चलको रुकुम जिल्लाको रूपमा यस जिल्लाले मान्यता पायो।
जिल्लाको नामाकरण
रुकुमकोटमा रहेको रुक्मेणी देवीको नामवाट रुकुमकोट रहेको र पछि रुकुमकोटवाट रुकुम नाम रहेको जनश्रुति पाइन्छ।
भौगोलिक अवस्थिति
- अक्षांश: २८ डिग्रि २९ मिनेट देखि २९ डिग्रि ० मिनेट उत्तर
- देशान्तर: ८२ डिग्रि २९ मिनेट देखि ८२ डिग्रि ५३ मिनेट पूर्व
- सिमाना: पूर्व- बागलुङ र म्याग्दी जिल्ला, पश्चिम-जाजरकोट जिल्ला, उत्तर-डोल्पा जिल्ला र दक्षिण- सल्यान र रोल्पा जिल्ला
- क्षेत्रफल: २,९३,१८२ हेक्टर
- सदरमुकाम: मुसीकोट, खलङ्गा(१,४४८ मिटर)
- सबभन्दा होचोस्थान: ७५४ मिटर
- सबभन्दा अग्लोस्थान: ६,००० मिटर
जनसाङ्खिकि
एघारौँ राष्ट्रिय जनगणना २०६८ मा, रुकुम जिल्लाको जनसङ्ख्या २,०८,६६७ रहेको थियो जसमध्ये ९१.६% जनसङ्ख्याले नेपाली, ५.२% ले मगर र २.८% ले खाम भाषा बोल्दथे।[२]
वि.सं २०२८-२०६८ जनगणनाको जनसङ्ख्याको तथ्याङ्क
![](http://upload.wikimedia.org/wikipedia/ne/timeline/jjbrnikruk4jzl6xd44bajuvc2op9m6.png)
जडिबुटिहरू
रुकुम जिल्लामा पाइने प्रमुख जडिबुटिहरू यार्शागुम्बा, पाँचऔंले, कुरिलो, टिमुर, दाल्चिनी, गूर्जो, कुट्की, पाङर, बादलपाते, बोझो, हर्रो, चुत्रो,अमला, पदमचाल, सतूवा, हलहले, कूमकूम, चिराइतो, जटामसी,भलायोकमल आदि हुनभने रूकुमको अधिकांश भूभागमा चिउरी पाइने गर्छ ।
वन्यजन्तु तथा चराचुरुङ्गी
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/b/b5/Sheep_Rearing_in_remote_village_of_Nepal.jpg/220px-Sheep_Rearing_in_remote_village_of_Nepal.jpg)
कस्तुरीमृग, नाउर, रातोबाँदर, ढेडु, झारल, थार, बाघ, भालु, खरायो, स्याल, दूम्सी, लोखर्के, गोहोरो, डाँफे, मुनाल, च्याखुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं, वनकुखुरा आदि।