विनोद चौधरी

नेपाली उद्दमी
(बिनोद चौधरीबाट अनुप्रेषित)

विनोद कुमार चौधरी (जन्म: वि.सं. २०१२ वैशाख १)[२] एक नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी हुन्। उनी चौधरी ग्रुपका अध्यक्ष तथा कार्यकारी प्रमुखसमेत हुन्।[३]

विनोद चौधरी
जन्म (1955-04-14) १४ अप्रिल १९५५ (उमेर ६९)
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
पेशाचौधरी ग्रुपका अध्यक्ष
चिनारीको कारणचौधरी ग्रुप
जम्मा सम्पतिवृद्धि $१.४ अर्ब (२०७६)[१]
राजनीतिक दलनेपाली कांग्रेस
जीवनसाथीसारिका चौधरी
सन्तान

वि.सं. २०६९ सालमा, उनी नेपालको सबैभन्दा धनी र नेपालको पहिलो अर्बपति बन्न सफल भएका थिए जहाँ, उनको अनुमानित कुल सम्पत्ति १ अर्ब अमेरिकी डलर रहेको थियो।[४] वि.सं. २०६९ साल देखि नै उनको कुल सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको छ। वितरण, खुद्रा, मनोरञ्जन र निर्माणमा केन्द्रित आफ्नो व्यवसायहरू बाहेक, उनले परोपकारी काम, पुस्तक लेखन, र चलचित्र निर्माण समेत गरेका छन्।[५] उनी फोर्ब्सको सन् २०१९ को अर्बपतिहरूको सूचीमा १३४९ औँ स्थानमा रहेका छन्।[६] सञ्चार माध्यमहरूको अनुसार, उनले एक्लैले ४२ दिनसम्मको सबै सरकारी खर्च धान्न सक्ने बताइएको छ।[७]

प्रारम्भिक जीवन

विनोद कुमार चौधरीको जन्म नेपालको काठमाडौँमा एउटा मारवाडी परिवारमा वि.सं २०१२ वैशाख १ गते भएको थियो।[२] उनका हजुरबुबा, भुरामल दास चौधरी एक उद्यमी थिए जसले कपडा व्यवसाय सुरु गरेका थिए।[८] उनका बुबा पनि एक व्यवसायी थिए जसले आफ्ना बुबाको व्यवसायलाई अझै विकसित गरेका थिए।[९] आफ्नो व्यापारिक जीवनको सुरुवातमा, चौधरीले पारिवारिक व्यवसायमा सामेल हुनुभन्दा थप शिक्षा लिने निर्णय गरेका थिए।

चौधरीले आफ्नो हजुरबुबा र बुबालाई प्रेरणाको रूपमा श्रेय दिएका छन्।[१०] उनी बलिउड अभिनेता अमिताभ बच्चनरणबीर कपुरको प्रशंसक हुन्। उनले दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मन्डेलालाई त्यस देशमा स्वतन्त्रता दिएको र व्यापारी जहाँगीर रतनजी दादाभाइ टाटा "टाटा" नामक महत्त्वपूर्ण कम्पनी निर्माण गरेकोमा प्रशंसा गरेका थिए।[११]

व्यापारिक जीवन

सुरुवात

उनका हजुरबुबा भुरामल दास चौधरी १९ औँ शताब्दीमा राजस्थान, भारतबाट नेपाल बसाइँ सरेका थिए।[१२] २० वर्षको उमेरमा उनी नेपाल आएपछि उनले कपडाको कारोबार सुरु गरेका थिए। केही वर्ष पश्चात्, अर्थात् वि.सं १९९० को महाभूकम्पपछि, उनी औपचारिक रूपमा दर्ता गरिएको कपडाको कम्पनी सुरु गर्ने नेपालमा पहिलो व्यक्ति बनेका थिए।[१३][१४] उनका बुबा लुनकरन दास चौधरीले कपडा व्यवसायको विकासलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय व्यापारिक भवन निर्माण कम्पनीको पनि स्थापना गरेका थिए। वि.सं. २०२४ सालमा लुनकरणदास चौधरीले खुद्रा भण्डार अरुण इम्पोरियमको स्थापना गरेका थिए जुन उनको सबैभन्दा सफल उद्यम थियो।[१५] अठार वर्षको उमेरमा विनोद चौधरीले चार्टर्ड एकाउन्टेन्सी पढ्न भारत जाने क्रममा, उनको बुबालाई मुटु रोग भएको पत्ता लागेको थियो र चिकित्सकहरूले उनलाई उनका पिताले परिवारको व्यवसाय चलाउन असमर्थ रहने बताएका थिए।[१६] परिवारमा जेठो छोरा भएको कारण उनले व्यवसायमा प्रमुखको रूपमा प्रवेश गरेका थिए।

सुरुमा उनले जापानको सुजुकी कार नेपालमा आयात गर्ने निर्णय गरेका थिए। एक युवा कपडा व्यवसायी भएकोले सुजुकीले उनीमाथि विश्वास नगरेको उनले लेखेका थिए र उनले कम्पनीलाई विश्वस्त बनाएको बताएका थिए।[१७] सुजुकी कम्पनीले उनीसहित अन्य चारजनालाई परिक्षणको रूपमा सुजुकीको कार नेपालमा बेच्ने निर्णय गरेको थियो। ६ महिनामा सबैभन्दा धेरै कार बिक्री गराउनेलाई सुजुकीले विक्रेता बनाउने निर्णय गरेको थियो। चौधरीले पछि, जापानी विद्युतीय बहुराष्ट्रिय कम्पनी पानासोनिकसँग एउटा सम्झौता गरेका थिए जुन उनको पहिलो बहुराष्ट्रिय सम्झौता थियो।[१८]

चौधरी ग्रुप

चौधरी ग्रुप एक व्यापारिक समूह हो जसलाई उनका बुवा लुनकरणदास चौधरीले स्थापना गरेका थिए।[१९] यो व्यापारिक समूहद्वारा सन् १९८४ मा नेपालमा परिचय गराइएको तैयारी चाउचाउको ब्रान्ड 'वाइ वाइ'लाई यस कम्पनीले सर्वाधिक बिक्री गराउन सफल भएको छ।[२०] चौधरीले २३ वर्षको उमेरमा यस कम्पनीको पदभार ग्रहण गरेका थिए। थाइल्यान्डको कम्पनीद्वारा उत्पादित वाइवाई चाउचाउलाई चौधरीले नेपालमा बिक्री गर्ने निर्णय गरेपछि यो कम्पनीको लोकप्रियमा वृद्धि भएको थियो। [२१] उनले चाउचाउ उत्पादन गर्नको लागि काठमाडौँमा एउटा उत्पादन कारखाना समेत निर्माण गरेका थिए।[२२] नेपालमा वाइवाई चाउचाउको बिक्री वितरण गर्नु अगाडि उनले थाइल्यान्ड भ्रमण गरेका थिए जहाँ उनले वाइवाइ चाउचाउ निर्माता कम्पनीसँग सम्झौता गरेका थिए। उनी कम्पनीसँग मिलेर काम गर्न चाहन्थे, तथापि मूल कम्पनीले वाइवाइलाई नेपालमा ल्याउने कुरामा विश्वस्त हुन सकेका थिएनन्। कम्पनीसँगको सहकार्यमा उनले चाउचाउ निर्माण प्रक्रियाको समेत अध्ययन गरेका थिए।[२३]

वि.सं २०६९ सालमा, अमेरिकी पत्रिका फोर्ब्सले उनलाई अर्बपतिहरूको सूचीमा समावेश गरेको थियो जहाँ उनी नेपालको पहिलो अर्बपति बन्न सफल भएका थिए।[२४] सन् २०१९ मा, फोर्ब्सले सार्वजनिक गरेको सूचीमा उनी १,३४९औँ स्थानमा उक्लिएका थिए। चौधरी ग्रुपको मालिकको रूपमा उनी सन् २०१५ मा, फोर्ब्स एसियाको आवरण पृष्ठमा देखा परेका थिए। सन् २०१८ मा, उनको सम्पत्ति २० करोड अमेरिकी डलरले वृद्ध भएको थियो।[२५] उनका अनुसार, चौधरी ग्रुपमा ७,००० मानिसहरू आवद्ध रहेको र यसको सञ्जाल विभिन्न १९ देशहरूमा रहेको बताएका थिए।

अन्य व्यवसाय

सन् १९९५ मा, चौधरीले दुबई सरकारको नबिल बैङ्कमा नियन्त्रणको लागि खरिद गरेका थिए।[२६] यस बैङ्कमा चौधरी ग्रुपको ५०% बढीको सेयर स्वामित्व रहेको छ।[२७] उनले सन् १९९० मा सिङ्गापुरमा सिनोमेटिभ समूहको सुरुवात गरेका थिए। सिनोभेसन समूह पहिलो व्यापक बहुराष्ट्रिय नेपाली कम्पनीहरू मध्ये एक हो। कम्पनीको होटल र रिसोर्ट, वन्यजन्तु र पर्यटन, खाद्यान्नपेय पदार्थ, घर जग्गा, सिमेन्ट र वित्तीय सेवामा संलग्नता रहेको छ।[२८] सिजीले ताज होटल समूहसँग संयुक्त लगानीमा चासो देखाउँदै दुबई र काठमाडौँमा सेवा सञ्चालन गरेको छ।[२९][३०]

राजनीति

सुरुवात

सन् १९७९ मा उनको पहिलो बहुराष्ट्रिय सहयोगका लागि नेपाल सरकारको इजाजत पत्र आवश्यक परेको थियो भने तात्कालिक समयमा सूर्यबहादुर थापा सत्तामा रहेका थिए।[३१] थापाले चौधरी र उनका बुवालाई "पञ्चायत शासन कायम गर्ने अभियानको लागि आर्थिक सहयोग गर्न" सल्लाह दिएका थिए भने उनीहरूले थापाको राजनीतिक अभियानलाई समर्थन गर्ने निर्णय गरेका थिए।[३२][३३] उनको पतन पछि चौधरीले धीरेन्द्र शाहको सम्पर्कमा रहेका थिए।[३४] वि.सं. २०४६ अर्थात् पहिलो जनआन्दोलनपछि उनी नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवाद (नेकपा-एमाले) सहित संसदीय दलहरूसँग नजिक भएका थिए।[३५] वि.सं. २०५० मा उनी आर्थिक नीतिको मस्यौदामा काम गर्नमा संलग्न भएका थिए जसले गर्दा उनी वि.सं. २०६४ मा नेकपा (एमाले) पार्टीले मनोनित गरेको संविधान सभाको सदस्य बनेका थिए।[३६]

नेकपा एमाले

उनी एकीकृत मार्क्सवादी लेनिनवाद (नेकपा-एमाले) को प्रतिनिधित्व गर्दै नेपालको संसदको सदस्य थिए।[३७] वि.सं. २०६४ सालमा एमालेले उनलाई सभासद बनाएको थियो। प्रतिनिधिसभा निर्वाचन, २०७४ अघि उनी काङ्ग्रेसमा प्रवेश गरेका थिए।[३८]

नेपाली काङ्ग्रेस

वि.सं. २०७४ सालमा उनी एमाले छाडेर शेरबहादुर देउवाको नेतृत्वमा रहेको काङ्ग्रेसमा आवद्ध भएका थिए।[३९][४०] संविधानसभा निर्वाचन, २०६४ नेकपा एमालेबाट समानुपातिक सांसद् रहेका उनी वि.सं. २०७४ मा, नेपाली काङ्ग्रेसबाट समानुपातिक उम्मेदवार बनेका थिए।[४१] नेपाली काङ्ग्रेसका अनुसार, यसमा आवद्ध भएका उनले दलमा महत्त्वपूर्ण योगदान दिएका थिए।

प्रतिनिधि सभा २०७९

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरी नवलपरासी पश्चिम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट २९४९५मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[४२] उनका निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशिल पार्टी, नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले २२३०८मत प्राप्त गरेका थिए।[४३]

अन्य कार्यहरू

लेखन

वि.सं. २०६९ सालमा, चौधरीले "विनोद चौधरी: आत्मकथा" शीर्षक रहेको आफ्नो आत्मकथा पुस्तक प्रकाशन गरेका थिए। पछि पत्रकार सञ्जीव घिमिरेले यस पुस्तकलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेका थिए।[४४] पुस्तकलाई भारतमा एक 'उँची उडान' शीर्षक अन्तर्गत प्रकाशित गरिएको थियो। यस पुस्तकलाई चार वर्षभन्दा बढी समय लगाएर लेखिएको बताइएको थियो जहाँ यस पुस्तकमा उनको परिवार र चौधरी ग्रुपको आरोह–अवरोहको कथा समेटिएको छ।[४५] उनले आफ्नो जीवनका निर्णायक मोड, व्यावसायिक फड्को, राजनीतिक संलग्नता, बहुराष्ट्रिय कम्पनी निर्माण आदि कुराहरूलाई प्रस्तुत गरेका छन्। नेपालय प्रकाशनले बजारमा ल्याएको यस पुस्तकको मूल्य ४ सय २५ रहेको छ।[४६]

दान कार्य

२०७२ सालको भूकम्प पश्चात्, उनले सोही दिनमा काठमाडौँमा राहतमा सहयोग गरेका थिए। उनले नेपालका १२ जिल्लाका भूकम्प पीडितहरूलाई सहयोग पुर्‍याउन स्वास्थ्य सेवाकर्मीहरूको व्यवस्था गरेका थिए।[४७] उनले भूकम्पले नष्ट भएका विद्यालयघरहरू पुनर्निर्माण गर्नका लागि २५ करोड भन्दा बढी नगद सहयोग र उनको स्वामित्व रहेको चौधरी ग्रुपद्वारा वाई वाई चाउचाउको ५० हजार प्याकेट, पेय पदार्थ वितरण गरिएको थियो। यस बाहेक उनको फाउन्डेसनले खाँचोमा परेका मानिसहरूलाई खाना र पानीको व्यवस्था समेत गरेको थियो। निर्माण कार्यको लागि १० करोड रुपैयाँको छुट्टै कोष खडा गरेको चौधरी ग्रुपले विद्यालय पुनर्निर्माण गर्न पाँच करोड रुपैयाँ खर्च गर्ने घोषणा गरेको थियो।[४८]

चौधरी फाउन्डेसन

उनी चौधरी फाउन्डेसनको संस्थापक समेत हुन्। यसको स्थापना सन् १९९५ मा गरिएको थियो। यसले नेपालमा दिगो विकास लक्ष्यको प्रगति र संवर्धनका लागि संयुक्त राष्ट्र विकास कार्यक्रममा हस्ताक्षर गरेको छ।[४९] नेपालमा आएको विनाशकारी भूकम्प पश्चात् फाउन्डेसनले नेपालको पुनर्निर्माणमा सहयोग गरिरहेको छ। फाउन्डेसनले धादिङ स्थित कुम्पुर गाउँ विकास समिति (गाविस)का भूकम्प पीडितलाई १६६ आश्रयहरू हस्तान्तरण गरेको थियो। वि.सं. २०७५ सालमा, यसले ५ सय ८ जना अपाङ्ग व्यक्तिहरूलाई कृतिम हातखुट्टा प्रदान गरेको थियो।[५०] कोरोना महामारी पश्चात्, कोषले सरकारलाई १ हजार थान कोरोना परिक्षण सामग्रीहरू प्रदान गरेको थियो।[५१]

विवाद

विनोद चौधरी नेपालका एकमात्र अर्बपति हुन्।[५२] फोर्ब्सका अनुसार उनको कुल सम्पत्ति १ अर्ब अमेरिकी डलर भन्दा बढी रहेको छ।[५२] चौधरी माथि कर छली र विदेश मुद्रा अपचलनको आरोप लागेको थियो।[५३] कानुन विपरीत उनले नेपाल बाहेकका अन्य देशहरूमा करोडौँ लगानी गरेको र राजपरिवारको सम्पत्ति समेत लुकाएको आरोप लागेको थियो भने उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको सम्पत्तिको सम्पूर्ण विवरणहरू उपलब्ध गराउनका लागि पत्र समेत पठाएको थियो। वि.सं. २०७४ चैतमा, चौधरी ग्रुपको एक प्रमुख सहायक कम्पनी सिजी इलेक्ट्रोनिक्सले झुठो बीमा दावी गरी ९८ करोड रकम असुल गरेको विषय प्रमाणित भएपछि उनी पुन: विवादमा परेका थिए।[५४][५५] यस घटना पश्चात् बीमा सेवा प्रदायक कम्पनी "युनाइटेड बीमा कम्पनी" सर्वोच्च अदालत पुगेको थियो। उच्च अदालत पाटनले उनलाई यस घटना पश्चात्, २४ करोड तिर्नुपर्ने फैसला सुनाएको थियो।[५६] राजस्व नतिर्ने, गुणस्तरहीन खाद्य पदार्थहरूको बिक्रीवितरण गर्ने लगायतका आरोपहरू उनीमाथि लागेको छ।[५७] उनले पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने सरकारको निर्णयले विकृति र नयाँ सामाजिक चुनौती थप गर्ने बताएका छन्।[५८]

पुरस्कार

सन् २०१५ मा उनलाई भारतस्थित श्री श्री विश्वविद्यालयले परोपकारी कार्यमा उल्लेखनीय योगदानका लागि सम्मानित गर्दै उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो।[५९] सन् २०१६ मा उनलाई एसिया पुरुषको रूपमा एक पुरस्कारद्वारा सम्मानित गरिएको थियो[६०] भने सोही वर्ष उनी फ्रोस्ट एन्ड सुलिभान ग्रोथ, इनोभेसन एन्ड लिडरसिप (जिआइएल) पुरस्कारबाट सम्मानित भएका थिए।[६१] सन् २०१९ मा, उनलाई होटेलिभेटले लाइफटाइम अचिभमेन्ट पुरस्कारद्वारा सम्मानित गरेको थियो।[६२]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद